काठमाडौँको दशरथ रङ्गशालामा साफ उमन्स च्याम्पियनसिप अन्तर्गत भारत र नेपालबीच आज भएको खेलमा नेपाल विजयी भएको छ । हजारौँ घरेलु दर्शकले भरिएको फुटबल मैदानमा भारतसित भएको सेमी फाइनल खेल अत्यन्त रोमाञ्चक रह्यो ।

निर्धारित समयभित्र भारत र नेपाल दुवैले एकएक गोल गरेर बराबरी गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

दोस्रो हाफको पनि बीचसम्ममा दुवै पक्षबाट कुनै गोल हुन नसकिरहेका बेला भारतको तर्फबाट ७१ औँ मिनेट गोल भएपछि खेलले थप गति लिएको थियो । लगत्तै नेपालका तर्फबाट सावित्रा भण्डारीले पनि गोल गरेपछि खेल बराबरीमा अघि बढेको थियो ।

निर्धारित समयभित्र दुवै देशले थप गोल गर्न नसकेपछि भएको पेनाल्टी सुटआउटमा नेपाल ४—२ ले विजयी भएको हो ।

भारतका तर्फबाट गरिएका दुई पेनाल्टी प्रहारलाई नेपाली गोलकिपर अन्जना थापा मगरले रोकिदिएकी थिइन् । नेपालले भारतलाई सेमी फाइनलतमा हराएपछि अब बुधबार हुने फाइनल खेलमा नेपाल बङ्गलादेशसित भिड्ने छ ।