पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोकमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आयोजनामा गाउँपालिका भरिका शिक्षकहरूका लागि पेसागत अभिप्रेरणा तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाको सभाकक्षमा सम्पन्न कार्यक्रममा गाउँपालिका भित्रका करिब एक सय जना शिक्षक—शिक्षिकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट आफ्नो धारणा राख्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले कार्यक्रम अत्यन्त फलदायी र प्रेरणामूलक रहेको बताउँदै यसले सबै शिक्षकहरूमा पेसाप्रति गौरव गर्न र सोहीअनुसार पेसागत सीपको विकासमा उपयोगी भएको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष जितमान डोङको सभापतित्वमा सम्पन्न उक्त अभिमुखीकरण, उत्प्रेरणा तथा पुनर्ताजगी कार्यक्रमको सहजकीकरण आचार्य लक्ष्मण भण्डारीले गर्नुभएको थियो ।
त्यस्तै, मेलम्ची नगर पालिका वडा नं ११, मेलम्ची बजारमा रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि पनि विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । पहिलो दिनमा कक्षा ६ देखि १२ कक्षाका विद्यार्थीका लागि सो कार्यक्रम आयोजना भएको थियो ।
भोलिपल्ट सोही विद्यालयका अभिभावक तथा विद्यार्थीका लागि पनि संयुक्तरूपमा उत्प्रेरणामूलक शैक्षिक सचेतना कार्यक्रमको आयोजना गरिएको थियो । फागुन ११ र १२ गते विद्यालयमा आयोजित कार्यक्रम वडा कार्यालयको विशेष सहयोगमा सञ्चालन गरिएको थियो ।
कार्यक्रमका समन्वय सोही विद्यालयका शिक्षक तथा शैक्षिक व्यक्तित्व लेखनाथ भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा स्वागत तथा धन्यवाद विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ सरले गर्नुभएको थियो ।

जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।