गण्डकी नदीको प्रवाहलाई पथान्तरण गरी यहाँको पौराणिक तथा प्राकृतिक वैभवलाई आँच पुर्याउने प्रयास हुन थालेको स्थितिमा विश्वको दुर्लभ काली गण्डकी र शालीग्राम सभ्यता खतरामा पर्ने भयो भन्ने मूल चिन्ताका कारण जनजनमा जागरण पैदा गर्ने, यसको संरक्षण गर्ने, गण्डकीको पदयात्रागत पर्यटनलाई पनि टेवा पुर्याउने उद्देश्य पदयात्रा आयोजकको रहेको छ ।

देवघाटधाम

काली गण्डकी नदीको सभ्यता संरक्षण र प्रचार—प्रसारको लागि आयोजना गरिएको पदयात्रा पदयात्राका पाँच दिन सम्पन्न भएका छन् । जेठ २२ गतेका दिन देवघाटस्थित त्रिशुली र काली गण्डकीको सङ्गम बेनीबाट सुरुभएको पदयात्राको पाँचौँ दिनसम्म आइपुग्दा पाल्पाको रामपुरमा रहेको रामघाटसम्मको पदयात्रा पूरा भएको छ ।

महेश संस्कृत सन्न्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुलका प्रधानाध्यामक फणीन्द्र पौडेल यस पदयात्राका संयोजक हुनुहुन्छ । पदयात्रामा सहभागीहरूलाई विभिन्न स्थानमा स्थानीयहरूले विशेष स्वागत गर्दै गण्डकी सभ्यताका लागि सुरु गरिएको पदयात्रा अभियानमा आफ्ना श्रद्धा, सम्मान र अभिनन्दका माध्यमले ऐक्यवद्धता जनाएका छन् ।

यात्राको नेतृत्व महेश सन्न्यास आश्रमका मठाधीश स्वामी रमणानन्द गिरिले गर्नुभएको छ, जहाँ सयौँको उत्साहप्रद सहभागिता रहेको छ । यसबीचमा यात्रुहरु केवल यात्राका लागि मात्रै यात्रामा सहभागी नभएर गण्डकीका तटवर्ती तीर्थस्थल, धाम, मठमन्दिर र धार्मिक स्थलहरुको पनि अध्ययन, अवलोकन र दर्शन गर्ने कार्यमा संलग्न भएका छन् ।

गण्डकी नदीको प्रवाहलाई पथान्तरण गरी यहाँको पौराणिक तथा प्राकृतिक वैभवलाई आँच पुर्याउने प्रयास हुन थालेको स्थितिमा विश्वको दुर्लभ काली गण्डकी र शालीग्राम सभ्यता खतरामा पर्ने भयो भन्ने मूल चिन्ताका कारण जनजनमा जागरण पैदा गर्ने, यसको संरक्षण गर्ने, गण्डकीको पदयात्रागत पर्यटनलाई पनि टेवा पुर्याउने उद्देश्य पदयात्रा आयोजकको रहेको छ ।

पदयात्राका क्रममा विभिन्न गाउँपालिका, नगरपालिका र वडाका जनप्रतिनिधि समेत रहभागी भई यात्रुहरुको प्रयत्नमा हौसला थप्ने, अभियानप्रति सम्मति जनाउने र आवश्यक सहयोग गर्ने गर्नुभएको कुरा पदयात्रा संयोजक फणीन्द्र पौडेलले बताउनुभएको छ ।

छैठौँ दिनको पदयात्रा सदा झैँ आज बिहान सवा ६ बजेदेखि सुरु भएको छ र साँझ उत्तर वाहिनीस्थित कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानमा पुगेर विश्राम गरिने बताइएको छ ।

पदयात्राको आरम्भका समयमा देवघाटस्थित हरिहर आश्रमका पीठाधीश तथा सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, गलेश्वर आश्रमका मठाधीश स्वामी आत्मानन्द गिरी एवम् महेश सन्न्यास आश्रमका मठाधीश स्वामी रमणानन्द गिरिसहित विभिन्न मठमन्दिरका प्रमुख, सन्तसमाजका सदस्य, भक्तजन, स्थानीय पदाधिकारी तथा गण्डकी सभ्यताका उपासक भक्तजनको विशेष उपस्थिति रहेको थियो ।