बालबालिकाको शिक्षा, स्वास्थ्य, संस्कारसम्बन्धी सकारात्मक विकासका लागि अभिभावक आफैँमा सचेत हुन अत्यन्त जरुरी छ । आफूलाई गरिनुपर्ने आधारभूत स्याहार, स्नेह र रेखदेख उनीहरूको अधिकार पनि हो । यसै विषयको सेरोफेरोमा रही गत असार २१ गते भरतपुर महानगर पालिका वडा नं ०३ ले युवा समाज नेपालको समन्वयमा मानव अधिकारका लागि अभिभावक शिक्षा विषयक कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा वडाभित्र रहेका विभिन्न सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका प्रतिनिधि अभिभावक, विभिन्न टोल सुधारका प्रतिनिधि तथा महिला समूहका आमा सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै वडाका अध्यक्ष विकास थापाले अभिभावक शिक्षाको आवश्यकताको चर्चा गर्दै यस्ता सकारात्मक संस्कार र सोँच विकासका लागि वडाले सक्दो सक्रियता प्रकट गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा अभिभावक शिक्षाको बारेमा सहजीकरण गर्दै कुशल प्रशिक्षक एवम् सहजकर्ता आचार्य लक्ष्मण भण्डारीले सचेत अभिभावक र अचेत अभिभावकका पहिचानबारे चर्चा गर्नुभएको थियो । हाम्रो समाजमा अभिभावकले गरिरहेका काम र व्यवहारमा सुधारको आवश्यकता औँल्याउँदै आचार्यले अभिभावकलाई अब सचेत अभिभावकका रूपमा अघि बढ्नका लागि प्रतिवद्धता व्यक्त गर्न अनुरोध समेत गर्नुभयो ।

समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठ व्यक्तिहरू समेतको उपस्थितिमा सम्पन्न कार्यक्रममा पत्रकार अर्जुन अधिकारीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।